सरकारले तोक्यो प्रिकास्ट कंक्रिटको मापदण्ड, गुणस्तरहीन निर्माण सामाग्री उत्पादन रोकिने

13/11/2020

काठमाडौं। प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरु उत्पादकले अब गुणस्तरको मापदण्ड समेत पूरा गर्नुपर्ने भएको छ । सरकारले यस्ता निर्माण सामग्री उत्पादनमा पहिलोपटक मापदण्ड निर्धारण गरेसँगै अब जथाभावी प्रिकास्ट कंक्रिटका सामान उत्पादन गर्न नपाइने भएको हो ।नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरुका लागि तय गरेको मापदण्डबाट यसका उपभोक्ताले गुणस्तरको लाभ पाउनेछन् । विभागले तयार पारेको उक्त मापदण्ड उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा गत कात्तिक २६ मा बसेको नेपाल गुणस्तर परिषद्को बैठकले पेभिङ, कर्भ स्टोनलगायतका विभिन्न कंक्रिट प्रिकास्ट प्रडक्टहरुको स्पेसिफिकेसन स्वीकृत गरेको हो। स्थानको बनोट, सवारीसाधन आवतजावत संख्या र वजन लगायतका विविध पक्षलाई आधार बनाएर सरकारले प्रिकास्ट कंक्रिट स्पेसिफिकेसन तय गरेको छ। सरकारले प्रिकास्ट कंक्रिट अन्तर्गत पेभिङ (ब्लक्स), कर्भ्स, च्यानल्स्, एजिङ्स, क्वाड्रयान्ट्स र गट्टर एप्रोन्सको मापदण्ड तय गरेको हो। यस्ता सामग्रीहरु नेपालमा ठूलो लगानीसहित एसियन कंक्रिटो, जगदम्बा कंक्रिटो, एरोब्रिक्स्, गोर्खा प्रिकास्टलगायतका कम्पनीहरुले उत्पादन गरिरहेका छन् । अन्य साना-ठूला गरि देशैभर सयौंको संख्यामा प्रिकास्ट कंक्रिटका सामाग्रीहरु उत्पादक छन्।कंक्रिट प्रडक्टहरुको गुणस्तर तय गर्ने कुनै मापदण्ड नहुँदा कस्तो सामाग्रीको प्रयोग भइरहेको छ वा हुन्छ भन्नेबारे हालसम्म अन्योलकै अवस्था छ । ठूलो लगानीका पूर्वाधार निर्माणमा प्रयोग हुने यस्ता सामाग्रीहरुको मापदण्ड नहुँदा गुणस्तरहीन काम भएका थुप्रै उदाहरणहरु छन्। पूर्वाधार निर्माण गरेको छोटो समयमै ब्लकहरु फुस्किने, पानी लिकेज हुने, भारवहन क्षमता थेग्न नसकेर ब्लक फुट्नेलगायतका विविध समस्याका कारण बजेट खेर गइरहेको छ।यिनै समस्याको निराकरण गर्ने उद्देश्यले सरकारले प्रिकास्ट कंक्रिट प्रडक्टका लागि स्पेसिफिकेसन निर्धारण गरेको जनाएको छ। यी उत्पादनमा सरकारले मापदण्ड स्वीकृत गर्नु स्वागतयोग्य काम भएको प्रिकास्ट कंक्रिट उत्पादक कम्पनीहरुले जनाएका छन्। ‘सरकारले तय गरेको मापदण्डले स्तरीय कंक्रिट प्रडक्टको प्रयोग बढ्ने देखिन्छ । यसले निर्माणको क्षेत्रमा परिवर्तन ल्याउँछ । यसकारण निकै आवश्यक मापदण्ड सरकारले स्वीकृत गरेको छ,’ प्रिकास्ट कंक्रिटका सामग्रीहरु उत्पादन गर्दै आएको कम्पनी एसियन कंक्रिटोका अध्यक्ष राजेशकुमार अग्रवाल भन्छन् । मापदण्डको अभावमा ठेकेदारहरुले गुणस्तरहीन सामाग्री प्रयोग गर्नेदेखि आकार नमिलेका ब्लक प्रयोग गर्ने गरेका छन्। तर, अब मापदण्डविपरित सामाग्री उत्पादनदेखि प्रयोग गर्नेमाथि सरकारले कारबाही गर्ने ढोका खुलेको छ। यसले गर्दा गुणस्तरीय सामाग्रीको प्रयोगले विकासका काम टिकाउ र स्तरीय हुने स्वयम् उत्पादकहरुको भनाइ छ। मापदण्ड कायम नगरेका उद्योगहरुले अब उत्पादन अपग्रेड गर्नु वा बन्द गर्नुबाहेकको विकल्प नरहेको विभागले जनाएको छ। नेपालमा विगत चार दशकदेखि निर्माणमा कंक्रिट प्रडक्टहरु प्रयोग भइरहेका छन्। कंक्रिट प्रडक्टहरुको मापदण्ड विगत छ दशकअघि नै युरोपेली देशहरुले कार्यान्वयनमा ल्याइसकेको सम्बद्ध जानकारहरुले बताएका छन्। तर नेपालमा भने यो आइसकेको थिएन ।नेपाल सरकार एक्लैले सडक पूर्वाधारमा न्यूनतम वार्षिक तीन लाख मेट्रिट टनभन्दा बढी प्रिकास्ट कंक्रिटका सामाग्री खपत गर्ने उत्पादकहरुले बताएका छन्। अन्य परियोजना साथै निजी क्षेत्रबाट हुने खपतको एकीकृत तथ्यांक भने कुनैपनि निकायसँग उपलब्ध छैन।
ORIGINAL ARTICLE (BIZMANDU)