आकस्मिक बाढी नियन्त्रणमा पर्मिएवल कंक्रिट

I.Idro Drain – Heidelberg cement (Photo – Italcementi a division of Heidelberg cement.)

यही साउनमा काठमाडौंको सामाखुशी खोलामा बगेर १४ वर्षीय बालकको मृत्यु भएको घटनाले धेरैको ध्यान खिच्यो। त्यस्तै २०७४ साउन र २०७६ भदौमा पनि काठमाडौं उपत्यकामा एक बालक र एक बालिकाले वर्षामा बढेको खोलामा खस्दा बगेर ज्यान गुमाउनु परेको थियो। अरु बेलामा सामान्य गतिमा बग्ने खोलाहरू अचानक त्यसरी भयंकर रूप लिनुको कारण थियो- आकस्मिक बाढी (फ्ल्यास फ्लड)।

वर्षायाममा केही ठूलो वर्षापश्चात् शहरभित्रकै बाटा–घाटामा बाढी आउनु, खोलानाला उर्लनु, सवारी साधन तथा पैदल यात्रा कष्टकर हुनु काठमाडौं र अन्य ठूला शहरहरूको नियति भइसकेको छ। शहरीकरण दिनानुदिन बढिरहेको छ। खेतीयोग्य तथा खाली जग्गाहरूमा घर तथा महलहरू ठडिएका छन्। खोलाको सीमा मिचिएको छ।

घरका आँगन, विद्यालयका चौर, सडकका पेटी, पार्किङ स्थल आदि स्थानमा ढलान गर्ने वा टायल राख्ने प्रचलन बढ्दो छ। यी कारणले गर्दा विगतको अनुपातमा पानी सोस्ने जमिनको क्षमता तीव्र रूपमा ह्रास भइरहेको छ। एकातर्फ पानी सोस्ने भाग नै घट्नु र अर्कोतर्फ त्यहाँ परेको पानी बगेर सडक वा ढलमा नै जानुपर्ने कारणले सडक जलमग्न भई खोलाकै रूप लिने, ढलले निकास दिन नसक्ने र अन्त्यमा खोलामा बाढी आउने गरेको छ।

आकाशबाट परेको पानी माटोमा पर्दा करिब ५० प्रतिशत माटोले नै सोस्छ। ४० प्रतिशत पानी वाष्पीकरण भई पुनः वायुमण्डलमा नै फर्किन्छ र बाँकी १० प्रतिशत मात्र बग्ने गर्दछ। तर टायल वा कंक्रिटले जमिन ढाकियो भने सोसिनुपर्ने सम्पूर्ण पानी बगेर ढल वा खोलामा नै मिसिन्छ।

वर्षायामको सुरुवातसँगै यस सम्बन्धी चर्चा चुलिंदै जान्छ तर वर्षातको अन्त्यसँगै यसको बहस पनि सेलाउँदै जान्छ। सम्बन्धित निकायद्वारा यसको समाधानका लागि ढलको क्षमता बढाउने र खोलालाई प्राकृतिक रूपमा फर्काउने तर्फका थोर-बहुत काम भइरहेका छन्, जुन स्वागतयोग्य तर अपुग छ।

अबका दिनहरूमा शहरीकरण अझै बढ्दै जाँदा पानी सोस्ने भू-भाग घट्दै जानेछ र अहिले निर्माण गरिने यी संरचना पनि भविष्यका लागि अपर्याप्त हुनेछन् भन्ने कुरा सजिलै आकलन गर्न सकिन्छ। जुनसुकै समस्या समाधानका लागि अपनाइने रणनीति दुई प्रकारका हुन्छन्- ऊर्ध्व प्रवाह रणनीति (अपस्ट्रिम अप्रोच) र अधोप्रवाह रणनीति (डाउनस्ट्रिम अप्रोच)। भविष्यमा हुनसक्ने समस्यालाई पूर्वानुमान गरेर त्यसलाई हुन नदिनका लागि अपनाइने रणनीतिलाई ऊर्ध्वप्रवाह रणनीति भनिन्छ भने समस्याको सुरुवात भइसकेपछि त्यसको नियन्त्रणमा अपनाइने रणनीतिलाई अधोप्रवाह रणनीति भनिन्छ।

शहरको बीचमा चिरा र खाल्डो पर्ने, भवनहरू कोल्टिने लगायत समस्याहरूले दशौं लाख मानिसहरूको जीवन जोखिममा परेको कुरा जर्मन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरूको रिपोर्टमा उल्लेख छ। पक्की घर बनाएर आँगनको बाँकी टुक्रो पनि ढलान वा टायल राख्ने चलन मौलाउँदै गरेको हाम्रो समाजले तेहरानको जस्तो नियति देख्न र भोग्न नपर्ला भन्न सकिन्न

अहिले चालिएका हाम्रा कदमहरू अधोप्रवाह रणनीति अन्तर्गत पर्दछन्। आकस्मिक बाढीको परिप्रेक्ष्यमा पनि हामीले ऊर्ध्वप्रवाह रणनीतिमा जोड दिनु आवश्यक छ। यो रणनीतिमा प्रभावकारी सिद्ध र नेपालमा सम्भव भएर पनि बहसमा नआएको एउटा विषय हो- पर्मिएवल कंक्रिट।

पर्मिएवल कंक्रिट खस्रो गिट्टी/ढुंगा, सिमेन्ट र पानीको समिश्रणबाट बनाइन्छ। यसको कुल आयतनको १५ देखि ३० प्रतिशतसम्म भाग छिद्रहरूले ओगटेको हुन्छ। जसले गर्दा यसको माथि परेको पानी सोसिएर तल जमिनतर्फ जान पाउँछ। पर्मिएवल कंक्रिटको प्रयोग करिब पाँच दशकअघि बेलायतबाट भएको मानिन्छ। त्यसपछि यसको प्रयोग अमेरिका, अष्ट्रेलिया, चीन, जापान आदि देशहरूमा पनि भइरहेको छ।

अमेरिकी राज्य सिकागो जहाँ वर्षेनि बाढीले वितण्डा मच्चाउँछ, त्यहाँ बाढीसँग जुध्नका लागि सम्पूर्ण गल्लीहरूमा यसको प्रयोग गर्ने योजना २००६ देखि सुरु भएको छ। सिकागो शहरका गल्लीहरूमा यसको प्रयोग व्यापक रूपमा भइरहेको छ। अन्य देशका पनि कतिपय ठाउँहरूमा बिछ्याइएका टायल/ढलान फोडी पर्मिएवल कंक्रिट प्रयोग गर्न थालिएको छ।

संयुक्त राज्य अमेरिकामा मानव स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्ने निकाय यूएसईपीए (युनाइटेड स्टेट्स इन्भाइरनमेन्टल प्रोटेक्सन एजेन्सी) को रिपोर्ट अनुसार यसको प्रयोगले बगेर जाने पानीको नियन्त्रण २५ देखि १०० प्रतिशतसम्म भएको जनाइएको छ। उक्त संस्थाकै रिपोर्ट अनुसार यसको प्रयोगलाई आकस्मिक बाढी नियन्त्रणका लागि उत्कृष्ट व्यवस्थापन अभ्यास पनि भनिएको छ।

परम्परागत कंक्रिटभन्दा केही कमजोर हुने हुँदा यसलाई कम भार पर्ने स्थलहरू जस्तैः आँगन, फुटपाथ, पार्किङ स्थल, साना गल्लीहरू आदिमा प्रयोग गर्न सुझाइएको छ। यसको फाइदा आकस्मिक बाढी नियन्त्रणमा मात्र नभई जमिनको तापक्रम नियन्त्रणमा, ध्वनि प्रदूषण नियन्त्रण गर्न, जमिनमुनिको पानी रिचार्ज गर्नमा पनि हुने कुरा विभिन्न रिपोर्टहरूमा बताइएको छ।

जमिनमा पानी नसोसिएर पानी रिचार्ज हुन नपाएमा के हुन्छ भन्ने दृष्टान्त इरानको राजधानी तेहरानमा देखिइसकेको छ। अत्यधिक मात्रामा जमिनमुनिको पानी खिंचिने उक्त शहरमा वर्षको ६ सेन्टिमिटरमा दरले जमिन दबिंदै गएको छ।

शहरको बीचमा चिरा र खाल्डो पर्ने, भवनहरू कोल्टिने लगायत समस्याहरूले दशौं लाख मानिसहरूको जीवन जोखिममा परेको कुरा जर्मन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरूको रिपोर्टमा उल्लेख छ। पक्की घर बनाएर आँगनको बाँकी टुक्रो पनि ढलान वा टायल राख्ने चलन मौलाउँदै गरेको हाम्रो समाजले तेहरानको जस्तो नियति देख्न र भोग्न नपर्ला भन्न सकिन्न।

त्यसैले आफ्नो आँगन, पार्किङ आदिमा व्यक्ति स्वयंले पनि पर्मिएवल कंक्रिटको प्रयोग गर्दा आफ्नो निजी सम्पत्तिलाई थप सुरक्षित बनाउनु हो भन्ने कुरा आम-मानिसलाई बुझाउन सकियो भने यसको प्रयोगमा उल्लेख्य वृद्धि ल्याउन सकिन्छ।

पर्मिएवल कंक्रिट हामीले प्रयोग गर्दै आएको टायल/कंक्रिटभन्दा केही महँगो भने पर्न जान्छ तर कालान्तरमा हुनसक्ने जोखिम न्यूनीकरणमा यसले खेल्न सक्ने भूमिकालाई मध्यनजर गर्ने हो भने फाइदाजनक नै मान्नुपर्छ। नेपालमा अहिलेसम्म यसको उत्पादन भएको छैन, तर गर्न गाह्रो भने छैन। कुनै महँगो/नौलो मेसिन वा कच्चा पदार्थ आवश्यक नपर्ने हुँदा नेपालमै पनि यसको उत्पादन सजिलै गर्न सकिन्छ।

सरकारी तवरबाटै प्रोत्साहनका लागि उत्पादक र प्रयोगकर्तालाई नीतिगत रूपमै छुटको व्यवस्था गर्ने हो भने अहिले प्रयोग हुँदै आएको टायल/कंक्रिटभन्दा महँगो पर्ने छैन। आकस्मिक बाढी नियन्त्रण गरी सर्वसाधारणको ज्यान नै जाने वा उठीवास लाग्न सक्ने गम्भीर समस्या समाधानका लागि पर्मिएवल कंक्रिटको प्रयोग नेपालमा पनि अपरिहार्य छ, सम्बन्धित निकायहरूको ध्यान पुगोस्।

Original Article (Online Khabar)