सवा २ अर्ब लगानीमा पैदल मार्ग सुधार गर्दै काठमाडौं महानगर

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने भएको छ ।

महानगरले ३२ वटै वडामा गएर तयार गरेको लागत अनुमान अनुसार सबै सडक खण्डमा गरेर सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको हो ।

पैदल मार्ग सुधारका लागि महानगरले केही स्थानमा सम्झौता समेत गरिसकेको जनाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको जनाएको छ ।

यसअन्तर्गत सबै फुटपाथमा रंगीन ब्लकहरु छापिनेछन् भने दरबारमार्ग क्षेत्रमा चाहिँ ग्रेनाइट छापिनेछ ।

कुन क्षेत्रमा कति लगानी ?

फुटपाथ निर्माण र व्यवस्थित गर्न महानगरको सार्वजनिक निर्माण विभागले वडा नम्बर २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा काम भइसकेको जनाएको छ ।

यस्तै ४ करोड ५५ लाख रुपैयाँ लागतमा वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ ।

२६ नम्बर वडाकोे लैनचौरबाटे लाजिम्पाट, महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि १० करोड रुपैयाँमा महानगरले सम्झौता गरिसकेको छ ।

यस्तै २८ नम्बर वडाको प्रदर्शनी मार्गमा ३ करोड ७८ लाख लागतमा काम सुरु भएको छ ।
११ नम्बर वडाकोे त्रिपुरेश्वरदेखि २२ नम्बर वडाको सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्मको सडक खण्डका १८ करोड रुपैयाँ लगानीमा फुटपाथ बनाउन निर्माण पक्षसँग सम्झौता भइसकेको महानगरले जनाएको छ ।

१७ नम्बर वडाको नयाँ बजार खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा फुटपाथको काम हुँदैछ ।

४ नम्बर वडाको बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि ६ करोड ३५ लाख रुपैयाँमा सम्झौता भइसकेको छ । यस्तै तीनकुनेदेखि सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तीलगंगा हुँदै ८ को गौशालासम्मका लागि पनि महानगगरले ६ करोड ६९ लाख रुपैयाँ लागतमा फुटपाथ निर्माण सम्झौता गरिसकेको छ ।

१० नम्बर वडाको नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख रुपैयाँ लागतमा काम हुने महानगरले जनाएको छ । वडा नम्बर ११ थापाथलीदेखि टेकु हुँदै १३ नम्बर वडाको कालीमाटीसम्मको सडक खण्डमा पनि ६ करोड लागतमा फुटपाथ निर्माण हुने भएको छ ।

२८ नम्बर वडाको बागबजारदेखि चारखाल, डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगल सडक खण्डका लागि १० करोडमा फुटपाथ निर्माण लागत अनुमान रहेको छ ।

कालीमाटीदेखि सोल्टी मोड हुँदै कलंकीसम्म, गौशालादेखि चावहिलसम्म, गौशालादेखि रातोपुलसम्मको सडक खण्डलाई एउटै प्याकेजमा राखेर महानगरले फुटपाथ निर्माण गर्ने तयारी महानगरले गरेको छ । यसका लागि १० करोड लागत अनुमान गरेर ठेक्का आह्वान भइसके पनि पहिलो बोलपत्रबाट ठेक्का नपरेपछि फेरि निकाल्ने तयारी महानगरेको छ ।

सार्वजनिक निर्माण विभागका अनुसार विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम सुरु भएको छ । ६ नम्बर वडाको महांकाल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ फुटपाथ निर्माण अनुमान लागत रहेको छ ।

१५ नम्बर वडाको भगवान पाउदेखि जुडोल मार्ग जोड्ने सडकका लागि १ करोड लागत अनुमान गरेर महानगरले बोलपत्र आव्हान गरिसकेको छ । बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यान हुँदै वनस्थलीतर्फको सडक खण्डका लागि ३ करोड रुपैयाँ लगानीमा फुटपाथ निर्माण हुनेछ । ३२ नम्बर वडाको जडीबुटी चोकदेखि पुरानो सिनामंगल पुलसम्मको सडक खण्डमा ११ करोड रुपैयाँ लागतमा पैदल मार्ग निर्माण हुने छ ।

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन

काठमाडौं महानगरपालिकाले माइतीघरदेखि बानेश्वर हुँदै तीनकुनेसम्म साइकल लेन समेत निर्माण हुने भएको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुने सार्वजनिक निर्माण विभागले जनाएको छ ।

बालमन्दिरदेखि नक्साल नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै डिल्लीबजार क्षेत्रसम्मका लागि ६ करोड रुपैयाँ लागतमा फुटापथ बन्ने भएको छ । धोबीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत महानगरले अनुमान गरेको छ ।

१५ नम्बर वडाको डल्लु आवास क्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको विभागले जनाएको छ ।

काठमाडौं महानगर क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ ।

बाँकी सडक संघीय सरकार अन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको महानगरको सार्वजनिक निर्माण विभागले जनाएको छ ।

महानगरले लागत अनुमान र बोलपत्र आह्वानमा छुटेका फुटपाथ निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै फुटपाथ सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Original Article