20/09/2077
काठमाडौं । घर, रिसोर्ट, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुइँलगायतको सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टको प्राविधिक कार्यशाला आयोजना गरिएको छ । प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्टायललगायत दुई दर्जन प्रकारका निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षका बारेमा जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पद्मकुमार मैनालीले गुणस्तरीय प्रिकास्टबाट निर्माण हुने निर्माण सामग्रीको बजार विस्तार हँुदै गएको बताउनुभयो । युरोप, अमेरिकी मुलुकमा धेरै वर्षदेखि प्रयोग हँुदैै आए पनि नेपाली बजारमा भर्खरै प्रयोग बढ्दै गइरहेको भन्दै उहाँले नेपालका प्रिकास्टका उत्पादक कम्पनीले गुणस्तरमा सम्झौता गर्नु नहुने बताउनुभयो । मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डअनुसार प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटरलगायतको उत्पादन गर्न निर्देशनसमेत दिनुभयो । मैनालीले प्रिकास्ट कंक्रिट उत्पादन मात्रै नभई बजारीकरणमा समेत ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । एसियन कंक्रिटोका निर्देशक अनिल जेटियाले विगत तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायतका सामग्री उत्पादन गर्दै आइरहेको छ । पर्याप्त मात्रामा बजारीकरण नहुँदा उत्पादनले राम्रो बजार भने पाउन सकेको छैन । नेपाल गुणस्तर परिषद्ले प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटरलगायतको मापदण्ड तोकेको छ । निर्देशक जाटियाले सरकार आफैंले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीको मापदण्ड तोक्नु सकारात्मक भएको बताउनुभयो । नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्रीहरू पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर (मिडियन) तथा भुइँलगायतका सजावटको लागि प्रयोग हुँदै आएका छन् । निर्देशक जाटियाले स्वदेशी कच्चा पदार्थबाट प्रिकास्टका सामग्री निर्माण गरिरहेको जानकारी दिनुभयो । प्रिकाष्ट सामग्रीको मुख्य कच्चा पदार्थ भनेको सिमेन्ट, गिटी, बालुवा र रोडा हो । तीन दिने कार्यशालामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुरका विभिन्न वडाका वडाध्यक्ष र इञ्जिनियरको सहभागिता थियो । त्यस्तै, कीर्तिपुर नगरपालिका र महालक्ष्मी नगरपालिकका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र इञ्जिनियरको पनि सहभागिता थियो । कार्यशालाको अन्तिम दिन सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक, ठिमी नगरपालिकाका वडाअध्यक्ष तथा इञ्जिनियर, नेपाल नापतौल तथा गुणस्तर नियन्त्रण विभागका निर्देशक, सडक विभागका वरिष्ठ इञ्जिनियर तथा इञ्जिनियर र काठमाडौं उपत्यकाका निर्माण व्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ । एसियन कंक्रिटोका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष श्यामल झाका अनुसार राष्ट्रिय गौरवका आयोजनामा समेत कंक्रिटका कर्बस्टोन, पेभर, टायललगायतका निर्माण सामग्रीको माग बढ्दै गएको छ । कम्पनीका उत्पादन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, पोखरा, भरतपुर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रयोग भइरहेको छ । झाले नेपालमा उत्पादित गुणस्तरीय कर्बस्ट्रोन एक किलोमिटरमा प्रयोग गर्दा भ्याटबाहेक १२ लाख रुपैयाँ पर्ने बताउनुभयो । गुणस्तरीय इन्टरलक पेभरको एक किलोमिटर लम्बाई र दुई मिटर चौडाइका लागि २५.३० लाख रुपैयाँ पर्छ ।
ORIGINAL ARTICLE (HIMALAYA TIMES)