गुणस्तरीय प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर, यस्तो छ बजार मूल्य

19/09/2077

काठमाडौं । घर, रिसोर्ट, रेष्टुराँ, विमानस्थल, सडक, फुटपाथ तथा भुइँलगायतको सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिटमा नेपाल आन्तनिर्भर बनेको छ । राजधानीको एभरेष्ट होटलमा भएको कार्यशालामा प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्टायल लगायतका दुई दर्जन प्रकारका निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षको बारेमा जानकारी दिँदै तीन दिने कार्यशाला गोष्ठी सकिएको हो । उक्त कार्यशाला गोष्ठीले नेपालमै गुणस्तरीय प्रिकास्ट कंक्रिटमा आत्मनिर्भर बनेको निष्कर्ष निकालेको हो । गोष्ठीका अवसरमा सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पद्मकुमार मैनालीले गुणस्तरीय प्रिकास्टबाट निर्माण हुने सामग्रीको बजार विस्तार हुँदै गएको बताए । ‘युरोप, अमेरिकी मुलुकमा धेरै वर्षदेखि प्रयोग हुँदैै आए पनि नेपाली बजारमा भर्खरै प्रयोग बढ्दै गइरहेको छ,’ उनले भने, ‘नेपालका प्रिकास्टका उत्पादक कम्पनीले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगरिकनै उत्पादन गर्नुपर्ने बेला भइसकेको छ ।’ निमित्त महानिर्देशक मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डअनुसार प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कक्रिंट कर्ब, एज (किनारा) लगायतको उत्पादन गर्न निर्देशन दिएका छन् । ‘प्रिकास्ट कंक्रिट ब्लकले उद्योगकै रुपमा स्थापित हुनु निकै सकारात्मक कुरा हो,’ उनले भने, ‘सरकारले तथा निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरिरहेको परिपेक्षमा यस्ता उद्योगको महत्व झनै बढ्दै गइरहेको छ ।’ निमित्त महानिर्देशक मैनालीले प्रिकास्ट कंक्रिट उत्पादन मात्रै होइन बजारीकरणमा समेत ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । कार्यशालामा सहभागी सरोकारवाला निकायले प्रिकास्ट कंक्रिटका निर्माण सामग्री मात्रै नभएर प्रिकास्टको फिटिङ गर्ने जनशक्ति पनि उत्पादन गर्दै लैजानुपर्ने सुझाव दिएका छन् । एसियन कंक्रिटका निर्देशक अनिल जेटियाले विगत तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको बताए । ‘नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायतका सामग्री उत्पादन गर्दै आइरहेको छ,’ उनले भने, ‘पर्याप्त मात्रामा बजारीकरण नहुँदा उत्पादनले राम्रो बजार पाइरहेका छैनन् ।’ नेपाल गुणस्तर परिषद्को २०७७ कार्तिक २६ गते बसेको बैंठकले प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कक्रिंट कर्ब, एज (किनारा) गटर लगायतको मापदण्ड तोकेको छ । निर्देशक जाटियाले सरकार आफैंले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीको मापदण्ड तोक्नु निकै सकारात्मक भएको बताए । ‘केही सीमित कम्पनीेले मात्रै गुणस्तर खालको कंक्रिटका ब्लक लगायतका निर्माण सामग्री उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘मापदण्ड बनेसँगै अब ग्राहकले गुणस्तर खालको प्रिकास्ट कंक्रिटको निर्माण सामग्री पाउने वातावरण बनेको छ ।’ निर्देशक जाटियाले प्रिकास्ट कंक्रिटको निर्माण सामग्री बनाउने उद्योगहरु नेपालमै स्थापित भइरहेको बताए । नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्रीहरु पाँचतारे होटल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर (मिडियन) तथा भुइँलगायतका सजावटका लागि प्रयोग हुँदै आइरहेका छन् । निर्देशक जाटियाले स्वदेशी कच्चा पदार्थबाट प्रिकास्टका सामग्रीहरु निर्माण गरिरहेको बताए । ‘यसको मुख्य कच्चा पदार्थ भनेको सिमेन्ट, गिटी, बालुवा र रोडा हो’ उनले भने, ‘यी सबै सामग्री नेपालमै उपलब्ध छन् ।’ उनका अनुसार प्रिकास्ट कंक्रिटका सामग्रीले नेपालको हालको मागलाई सम्बोधन गर्छ । प्रिकास्ट कंक्रिटका सामग्री विभिन्न डिजाइन र विभिन्न रंगमा उपलब्ध छन् । कार्यशालाको पहिलो दिन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुरका विभिन्न वडाका वडाध्यक्ष र इन्जिनियरहरुको सहभागिता थियो । त्यसैगरी कार्यशालाको दोस्रो दिन कीर्तिपुर नगरपालिका र महालक्ष्मी नगरपालिकका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र इन्जिनियरहरुको सहभागिता थियो । कार्यशालको अन्तिम दिन सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक, ठिमी नगरपालिकाका वडाअध्यक्ष तथा इन्जिनियर, नेपाल नापतौल तथा गुणस्तर नियन्त्रण विभागका निर्देशक, सडक विभागका वरिष्ठ इन्जिनियर तथा इन्जिनियरहरु र काठमाडौं उपत्यकाका निर्माण व्यवसायीको सहभागिता थियो । यस्तो छ प्रिकास्ट कंक्रिटको बजार मूल्य प्रिकास्ट कंक्रिट उत्पादन गर्दै आएका कम्पनीका अनुसार अहिले करिव दुई दर्जनभन्दा धेरै कंक्रिटका ब्लक, कर्बस्टोन, टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर, ड्रेनलगायतका सामग्री बजारमा उपलब्ध हुँदै आइरहेका छन् । ‘हाम्रो कम्पनीले उत्पादन गरेको प्रोडक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, पोखरा, भरतपुर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रयोग भइरहेको छ, उनले भने, ‘त्यसबाहेक देशभर रहेका नगरपालिका, गाउँपालिका तथा सरकारले बनाएका सडकको फुटपाथ, डिभाइडर (मिडियन)मा समेत हाम्रो उत्पादन प्रयोग भइरहेको छ ।’ उपाध्यक्ष झाले नेपालमा उत्पादन हुने गुणस्तरीय कर्बस्ट्रोन एक किलोमिटर लाम्बाईमा प्रयोग गर्दा भ्याटबाहेक १२ लाख रुपैयाँ लाग्ने बताए । गुणस्तरीय इन्टरलक पेभरको एक किलोमिटर लम्बाइ र दुई मिटर चौडाइका लागि २५.३० लाख रुपैयाँ पर्छ । त्यसैगरी इन्टरलक एयरपोर्टका लागि १.५ चौडा र एक किलोमिटर लम्बाइका लागि २५.५० लाख रुपैयाँ भ्याटबाहेक खर्च लाग्नेछ । लक्जरी खालको इन्टरलक फुटपाथ निर्माण गर्दा भ्याटबाहेक प्रतिवर्गमिटरका लागि २५ सय ५३ लाग्ने उत्पादक कम्पनीले जनाएको छन् ।
ORIGINAL ARTICLE (CAPITAL NEPAL)