ओम सञ्जीवनी कंक्रिटो कन्सर्न सञ्चालनमा

26/11/2075

भरतपुर । एसियन कंक्रिटो प्रालि नवलपरासीको एक्सपेरियन्स सेन्टरका रुपमा ओम सञ्जीवनी कंक्रिटो कन्सर्न सञ्चालनमा आएको छ । भरतपुर हाइटमा रहेको ओम सञ्जीवनी कंक्रिटो कन्सर्नको शनिबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी छन् । कन्सर्नको उद्घाटन कार्यक्रममा बोल्दै मेयर दाहालले महानगरमा थुप्रै विकास निर्माणका कामहरु हुने क्रममा रहेकाले स्वदेशी कच्चा पदार्थको प्रयोगबाट बनेका कंक्रिटजन्य उत्पादनहरु उपयोगी हुने बताइन् । सडकपेटी विस्तारका लागि कंक्रिटका सामग्रीहरु मह¤वपुर्ण हुने उनको भनाइ छ । एसियन कंक्रिटोले जर्मन प्रविधिमा आधारित रहेर कंक्रिटका इँटा, हलो ब्लक, कंक्रिट ब्लक, कंक्रिट स्ल्याव टाइल्स, रंगीन इँटा, रंगीन स्ल्याव जस्ता निर्माण सामग्री उत्पादन गर्दछ । एसियन क्रंक्रिटोका उत्पादनहरु वातावरणमैत्री रहेको कम्पनीको दाबी छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले स्वदेशी उत्पादनको प्रयोग गरी समृद्धिको दिशातर्फ अघि बढ्न व्यवसायीहरुको सकारात्मक साथ रहने बताए । एसियन कंक्रिटो नेपालका निर्देशक अनिल जटियाले भूकम्पपछि नेपालमा विकास निर्माणको तीव्र आवश्यकतालाई ध्यानमा राख्दै निकै पहलपछि मात्र जर्मनीको कम्पनीलाई नेपालमा उत्पादनको लागि उपकरण उपलब्ध गराउन विश्वस्त पार्न सम्भव रहेको बताए । कम्पनीले व्यक्तिगत घरदेखि मल, ठूला संस्थान, अस्पताल, पेट्रोल पम्प र सरकारी भवन तथा सडक निर्माणलाई लक्षित गरी सामग्री उत्पादन गरेको एसियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले बताए । ६० एमएमका उत्पादनमा ५० टन भार क्षमता र ८० एमएमका उत्पादनमा ९० टनसम्मको भार क्षमता भएकाले एकपटक प्रयोग गरेपछि कम्तीमा २० वर्ष ढुक्क रहन सकिने झाले बताए । ओम सञ्जिवनी कंक्रिटो कन्सर्नका प्रबन्ध निर्देशक निरन्जन न्यौपानेले चितवनमा भएका निर्माण कार्यलाई अत्यावश्यक सामग्रीको सहज उपलब्धताका लागि पनि एसियन कंक्रिटोको शाखा आवश्यक महसुस गरेकै कारण चितवनमा आफूले यसको जिम्मा लिएको बताए । कम्पनीले एकै दिनमा ५०० टन उल्लेखित वस्तुहरु उत्पादन गर्ने क्षमता राख्दछ । जसकारण माग र आपूर्तिमा समस्या नहुने न्यौपानेको दाबी छ ।
ORIGINAL ARTICLE (CHITWAN POST)