एसियन कंक्रिटोको उत्पादन नेपालमा भन्दा विदेशमा लोकप्रिय, खुलेको २ वर्षमै निर्यात सुरु

20/11/2077

काठमाडौं । गुणस्तरीय निर्माण सामग्री उत्पादनमा अब्बल रहेको एसियन कंक्रिटोले आफ्ना उत्पादन भारत निर्यात सुरु गरेको छ । जर्मन प्रविधि भित्र्याएर सामान उत्पादन सुरु गरेको कम्पनीले अहिले धमाधम आफ्ना उत्पादन भारत निर्यात सुरु गरेको एसियन कंक्रिटो प्रालिका प्रबन्ध निर्देशक राजेश अग्रवालले जानकारी दिए । परीक्षणका लागि ५ कन्टेनर सामान भारत पठाएको थियो । अहिले उद्योगका उत्पादनको माग बढ्न थालेपछि थप निर्यात गर्ने तयारीमा लागेको उद्योगले जनाएको छ । ‘सुरुमा थोरै परिणाम निर्यात गरिएको थियो । तर, त्यसपछि भारतबाट हाम्रा उत्पादनको माग अत्यधिक भएकाले निर्यातको परिणाम बढाउन लागिएको हो,’ उनले भने, ‘अहिले भारतका विभिन्न सहरमा एसियन कंक्रिटोका उत्पादनले सडक बन्न थालेका छन् ।’ नेपालमा आफ्नो उत्पादनका बारेमा सरकारी निकायलाई बुझाउन नसकेर हैरान बनेका थिए । तर, भारतमा एक पटक सामान पठाउने बित्तिकै त्यहाँबाट सामानको अत्यधिक माग आएको कम्पनीका अध्यक्ष मनिष रुङ्गाटा बताउँछन् । एसियन कंक्रिटोबाट उत्पादन भएका प्रडक्टहरु प्रयोग गर्दा त्यसबाट देखिने सुन्दरता र टिकाउ हुन्छन् । वातावरणमैत्री र सतप्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोगबाट त्यस्ता सामग्री बनाइरहेको छ । झण्डै डेढ अर्ब लगानीमा स्थापना भएको उद्योगले कर्बस्टोन, होलोब्लकलगायतका दर्जनौं निर्माण सामग्री बनाइरहेको छ । नेपालमा समेत विस्तारै आफ्नो बजार विस्तार गरिरहेको कम्पनीले भारतका विभिन्न सहरमा आफ्नो उपस्थिति दरिलो बनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा महानगरपालिका, लुम्बिनी, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिकालगायत विभिन्न क्षेत्रमा एसियन कंक्रिटोका उत्पादन प्रयोग भइरहेको छ । सरकारले पनि यससम्बन्धी मापदण्ड पनि बनाइसकेको छ । उद्योग नेपाल गुणस्तर (एनएस) लिने चरणमा छ । भैरहवा–परासी औद्योगिक करिडोरअन्तर्गत रामग्राम नगरपालिकाको हकुई १६ मा रहेको उद्योगले २०७५ साउनदेखि उत्पादन सुरु गरेको थियो । उद्योगले पेभर्क, ब्लक, इँटा, कर्बस्टोन, होलोब्लक उत्पादन गरिरहेको छ । निर्माण सामग्री बनाउने नेपालमै पहिलो उद्योगको रुपमा रहेको एसियनले अहिले दैनिक ५ सय टन उत्पादन गरिरहेको छ । उद्योगले मासा नामक जर्मन प्लान्ट जडान गरेको छ । मासा विश्वको ब्लक उत्पादन गर्ने उपकरण बनाउने कम्पनीमध्ये सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनी हो । उद्योगले सतप्रतिशत कच्चापदार्थ नेपालकै प्रयोग गर्दै आएको छ । उद्योगले नेपालमै उपलब्ध हुने गिटी, बालुवा र ढुङ्गा यसको कच्चा पदार्थ हो । त्यसबाट विभिन्न वस्तुहरु उत्पादन र बजारीकरण गरी छिमेकी राष्ट्रमा निकासी गर्दा देशलाई नै बढी फाइदा हुने जनाएको छ । उद्योगको उत्पादन क्षमता धेरै भएको कारण नेपालको मात्र बजारले नपुग्ने अवस्था आएपछि भारत, भुटान र बंगलादेशमा निकासी यसअघि नै बनाएको थियो । नेपालमा उपलब्ध यस्ता उत्पादनहरुको कम्प्रेसिव स्ट्रेन्थ हालसम्म एम १०, एम १५ र एम २० मात्र रहेको छ । तर, एसियनबाट उत्पादित वस्तुहरुको कम्प्रेसिव स्ट्रेन्थ न्यूनतम एम ३५ भन्दा बढी हुने भएकाले कम्तीमा १५० मेट्रिक टनको प्रेसरले च्यापेर बनाउने गरिएको जनाएको छ । उत्पादित वस्तुहरु मजबुत, बलियो, टिकाउ हुने गरेको उद्योगको दाबी छ । कम्प्रेसिव स्ट्रेन्थ भएका वस्तुहरुबाट पार्किङ, सडक, आगन, वेयरहाउस, मल, व्यापारिक भवन, होटल रिसोर्टहरुको बाहिर प्रयोग गर्न सकिनेछ । एसियनको उत्पादित ब्लकहरु प्रयोगबाट सडक निर्माण गर्न सकिएमा कम्तीमा २०/२५ वर्ष ढुक्क हुने उद्योको दाबी छ ।
ORIGINAL ARTICLE (CAPITAL NEPAL)